Skip to main content

फोन

 म इन्द्रावती खोलाको झोलुंगे पुलमा छु । मान्छेहरू आवतजावत गर्दैछन् । बालबच्चा, बूढाबूढी, तरुना–तरुनी सबैजना आफ्नै रफ्तारमा खोली तर्दैछन् । नयाँ ठाउँ पुग्नेबित्तिकै मान्छेले अचेल दुई काम गर्छ । या त फेसबुकमा फलानो ठाउँमा छु भनेर ‘चेक–इन’ गर्छ या मोबाइलमा मुख चुच्चो पारेर झिल्मिलाउँदो सेल्फी खिच्छ ।

कलेजको टुरमा मेलम्ची पुगेको मलाई सम्झनाको खातिर तस्बिर खिच्नु कुनै नौलो कुरो थिएन । एचटीसी–८२० मोडलको मोबाइल झिकें । हामीजस्ता कालो वर्णका पुरुष तथा महिलाका लागि रेट्रिका र स्विट सेल्फी छ, अनुहारमा कृत्रिम चमक थपिदिनका लागि । 

मोबाइलले १–२–३ भन्दै टाइमर दिँदै थियो । अकस्मात् मेरो हातबाट मोबाइल झ्याम्मै भुइँमा खस्यो । झोलुंगे पुलको बीचतिर भएको भए त मोबाइल खोलामा खस्थ्यो । धन्न म पुलको छेउँमा भएकोले मोबाइल बगरमा खस्यो । जेहोस्– मैले आफ्नो फोनलाई श्रद्धाञ्जली दिनु परेन ।

बडो दुःखले ओरालो झरेर बगरमा सेतो रङको आफ्नो उही चिरपरिचित फोन भेट्दा मन दंग थियो । फोन कस्तो अवस्थामा छ भन्दा पनि फोन भेटियो भन्ने कुरामा अन्तरिम खुसी भइयो । चिसो भइसकेको मन र हराइसकेको धड्कन यसरी बिजुली गतिमा दौडियो कि मानौं उसेन बोल्ट १०० मिटरको रेसको अन्तिम ५ सेकेन्ड दौड्दै छ । फोन समातें । स्क्रिन फुटेको रै’छ । अन गर्न खोजें, खुलेन । मन खङ्रङ्ग भो ।


कोटेश्वर

कोटेश्वरमा टन्नै मोबाइल पसल छन् । आफ्नो खल्तीको वजनअनुसारका सबैखाले फोन यहाँ पाइन्छन् र बनाइन्छन् पनि । सस्ता चाइनिजदेखि महँगा आइफोनजस्ता, उसबेलाको चर्चित सामसुङदेखि अहिलेको चर्चित ओप्पोसम्म । चौकीको छेउबाट महादेवस्थान जाने बाटोमा अलि अगाडि बढेर एउटा चिनेको मोबाइल पसल छ । बिरामी फोनलाई घटना भएको ३४ घण्टापछि अस्पताल पुर्‍याइएको थियो । घटनाको प्रकृति र बिरामी फोनको नाजुक अवस्था देखेर मोबाइल डक्टर दाइले आफ्नो खस्रो आवाजमा भने, “६ हजार लाग्छ भाइ । बन्छ, तर फोन रिकभर गर्नुपर्छ !!”

“भन्नाले ?” मेरो सामान्य प्रश्न थियो ।

“भन्नाले तपाईंको मोबाइल बिल्कुल नयाँ जस्तै हुन्छ, केही पनि रहँदैन ।”

“केही पनि नाइ ?”

“अहँ, नो फोटो, नो एप, नो कन्ट्याक्ट्स, नो मेसेज, नो डाटा, नो म्युजिक, नो भिडियो ।”

दाइले जानेको जति सबै अंग्र्रेजी एकै सासमा बोले ।

मलाई हिजोसम्म फोनको माया लाग्थ्यो । अघिसम्म ६ हजारको माया लागेजस्तो लागेको थियो । अब एक्कासि फोनमा भएको डाटाको माया लाग्न थाल्यो । धमिलो भइसकेको थियो संसार एकैछिन त ।

मलिनो स्वरमा भनें, “बनाइदिनुस् न त !”

आज कोटेश्वरको साथीलाई भेट्न पनि मन लागेन । ओहो, कस्तो बिर्सिरा’ ! ऊ त लोकन्थली सरेको दुई महिना भइसकेको छ । मोबाइलको पीरले भुस्कुट भइसकिएछ ।


फोन

अघिल्लो दसैंमा ठूलो मम्मीको छोराले पठाइदे’का हुन् यो फोन । साउदी अरबबाट आ’को फोन आजसम्म केही भ’को थेन । पोहोर सुनकोसी जाँदा खोलामा डुब्दा त झन् स्विच अफ पनि भा’थेन । अहिले फोनलाई ठूलै खड्गो परेको रै’छ– कोटेश्वरबाट जडिबुटी पुग्दासम्म मनले यस्तै सोच्यो । फेरि यस्तै फोन बर्थ डे गिफ्ट, दसैं गिफ्ट कहिले पाइएला ? आफैं किन्न सक्ने औकात बनिसकेको थिएन ।


कोठा 

मेरो कोठा सानो छ । औसत आकारको सानो । एक थान दराज, एउटा किचन र्‍याक, दुइटा बाल्टिन अनि एउटा टेबुल र एउटा कुर्सी । कति सजिलै वर्णित हुन्छ, मेरो कोठाको रूपरेखा । कोटेश्वरको फोन बनाउने दाइको अनुहार सम्झिएँ अनि इन्द्रावती सम्झिएँ । ६ हजार कोसँग माग्ने ? घरबाट पैसा पठाइदेलान् ? मन अमिलो भइसकेको थियो अनि रिकभरमा हराउने मेरा अनगिन्ती चिजबीजको पीडा । आज खाना पकाउन पनि जाँगर चलेन । बत्ती बालें । बत्ती बाल्ने स्विचसँगैको मल्टीप्लकमा एचटीसीको ओरिजिनल चार्जर लत्रिरहेको थियो । आत्महत्याका लागि तयार डोरीजस्तो तनक्क तन्किएको थियो अनि लाशसरि मोबाइलचाहिँ पोस्टमोर्टमका लागि अस्पताल पठाइएको छ, कोटेश्वर ।

“साँच्चै मैले केके गुमाउँछु होला ?” अन्तरमनका प्रश्नका उत्तरहरू बुँदागत रूपमा छरिए । वार्षिक परीक्षामा लामो उत्तर लेखेजस्तो ।


तस्बिर

मैले करिब २५०० तस्बिर गुमाउनेवाला थिएँ । १३०० जतिको मलाई पीर थिएन किनभने तिनीहरू इन्स्टाग्राम, फेसबुक, ट्विटरमा सुरक्षित थिए ।

बाँकी रहेका करिब १२०० तस्बिरमा कतिचाहिँ एकदमै महत्त्वपूर्ण थिए होलान् ?

(१) बाले ५० औं जन्मदिनमा जीवनको पहिलो बर्थडे केक काटेर सानो टुक्रा आमालाई खुवाउँदा आमा भक्कानिएकी थिइन् । भाग्यवश त्यो पल कैद भएको थियो ।

(२) भाञ्जी पहिलो दिन पढ्न जाँदा चिटिक्क परेर स्कुल ड्रेसमा निस्केकी थिइन् । एउटा फोटो खिचेथें । भाञ्जीलाई फोटोभन्दा नि स्कुल पुग्न हतार थियो ।

(३) पशुपतिमा कहिलेकाहीँ आरती हेर्न गइन्छ । साँझ आरती हे¥यो अनि हिँड्दै फर्कियो । एउटा सोमबार आरतीमा ध्यानमग्न हुँदा मधुरो प्रकाशमा मैले फोन ऊतिर सोझ्याएथें अनि एउटा तस्बिर खिचेथें– सुन्दर ।

(४) पुल्चोक क्याम्पसको प्रेजेन्टेसन जितेर पुरस्कार थाप्न लाइन लाग्दा पुल्चोकका डिनले अँगालो मारेका थिए अनि बधाई छ भनेर हात मिलाएका थिए । आहा, त्यो फोटो ।


एप्लिकेसन

फुटबलको एउटा मोबाइले गेम छ, ड्रिम लिग । पछिल्लो एक हप्तामा मैले आफ्नो टिममा महँगो खर्चमा अहिलेका बहुचर्चित दुई खेलाडी मेस्सी र रोनाल्डो भित्र्याएको थिएँ– याद आउने भए । अर्को एप पकेट बुक पनि हो । तर्क– फेरि डाउनलोड गर्न सकिन्छ भन्ने होला तर त्यही एपमा भएका १०–१५ वटा आर्टिकल र कथाका ड्राफ्ट उडेर जाने भए । मेरा दुई क्यामेरा रेट्रिका र स्विट सेल्फी पनि जाने भए ।


म्युजिक

मोबाइलमा सय वटा जति गीत थिए । मनमा बसेको भने एउटा ‘नजिक नआऊ डर लाग्दैछ’ विम्ब आकाशको गीत । नगद रु. १६ खर्च गरेर डाउनलोड गरेको थिएँ । गीत फेरि डाउनलोड गर्न मिल्थ्यो, तर गीतसँगैका यादहरू ?


म्यासेज

केही थान सीमित व्यक्तिहरूसँग मात्रै म्यासेज आदानप्रदान हुन्थ्यो मेरो । ६ वटा म्यासेज याद छन्, जुन हराउँदा म दुःखी हुने थिएँ ।

(१) एउटा साथी छ । कहिल्यै एसएमएस रिप्लाई गर्दैन । तर, उसले मेरो एउटा एसएमएसको रिप्लाईमा लेखेको एउटा दुर्लभ रिप्लाई थियो, “मैले तपाईंको मेसेज पढें ।”

ऊ म्यासेज रिप्लाई गर्दैन, बरु भन्छ, “तपाईंको मेसेज पढेर म मुस्कुराएँ ।”

(२) एकजना दाइले धन्यवाद भन्नका लागि एउटा म्यासेज पठाएका थिए, “थ्यांक यु सीएसए ।”

मलाई ‘सीएसए’को अर्थ थाहा छैन । र, मैले सोधिनँ पनि । तर, दाइको अर्थ नखुलेको म्यासेज गुमाउनु पर्दा दुःखी भएँ ।

(३) विराटनगरबाट काठमाडौं नाइटमा फर्किदै गर्दा आफ्ना सर्वप्रिय दाजुलाई मैले ‘मुग्लिन पुगेसी मेसेज गर्नू है’ भनेको थिएँ । बिहान ३ बजेतिर ‘आई ह्याभ सेफ्ली क्रस्ड मुग्लिन, थ्यांक यु फर योर कन्सर्न’ भनेर दाइको म्यासेज आयो । म निदाएको थिइनँ । यात्रामा आफ्ना मान्छे हिँड्दा मुग्लिन–नारायणगढ नकटी प्रायः निदाउनै सकिँदैन । कस्ता डरलाग्दा ‘हाइवे’हरू ।

(४) एउटी चिनजानकी बहिनीले रातको ११ बजेतिर ‘हाम्लाई किन एउटै आमाले नजन्माएकी होलिन् है ?’ भनेर प्रश्न सोधेकी थिइन् । मैले रिप्लाई नगरेको वा भनौं रिप्लाई गर्न नसकेको त्यो एउटा मेसेज सुरक्षित थियो फोनमा ।

(५) एउटा साथीले ६ महिनाअघितिर दिनभरिको भेटपछि साँझ म घर फर्किंदा ‘थ्यांक यु, पेसमेकर, मेरो मुटुको धड्कन फेरि पुरानो गतिमा ल्याइदिएकोमा धन्यवाद’ भनेर मेसेज पठाएथ्यो ।

(६) एउटी दिदीले लेखेकी थिइन्, “तिम्ले मलाई भाइझैं सम्मान गर्छौ, दाइझैं ख्याल गर्छौ अनि साथीझैं सहयोग गर्छौ । तिम्ले निभाएको तीनवटै भूमिकामा तिमी पास छौ, त्यो नि डिस्टिङ्सनमा ।” यसको पनि मैले रिप्लाई गरेको थिइनँ ।


कन्ट्याक्ट्स

मलाई कन्ट्याक्ट्सको दुःख हुनेवाला थिएन, किनकि जसले मलाई फोन गर्छन्, तिनीहरूसँग मेरो नम्बर छ । मलाई फोन आउँछ नै, मेरा सम्बन्ध नवीकरण भइहाल्छन् । जसले मलाई आजसम्म फोन गरेनन्, तिनको नम्बरको दुःख वा पीडा मलाई छैन ।

त्यसबाहेक मैले बल्लतल्ल ४ सय लेभल पुर्‍याएको क्यान्डी क्रस हराउने भो ।  अनि ‘भल्ट’का ती तस्बिरहरू जुन मैलेबाहेक कसैले भेट्टाउन सक्दैनथे । मोबाइलमा सबथोक थियो, उड्ने भए । फेरि सोचें, मेलम्चीको पुलमा मोबाइल मात्र खस्यो ।

मोबाइलको सट्टामा मं खसेको भए ? मेरो मोबाइलले म खसेको शोक मनाउँथ्यो होला ?

याद र स्मृति, तस्बिर र मेसेज बेला र मौका पर्दा फेरि भेटिनेछन्, खिचिनेछन् ।


उत्तराद्र्ध 

मोबाइल सबथोक हैन । मोबाइलमा सबथोक राख्नु हुन्न । मोबाइल नभई पनि हुन्न । चलाइरहन पनि हुन्न र नचलाए पनि हुन्न । मोबाइल बोक्दा पनि हुन्न नबोक्दा पनि हुन्न । मोबाइलप्रतिको मोह थोरै घटाउनैपर्छ । त्यसो गर्दा मनको पीडा कम हुन्छ ।

कोटेश्वरका दाइले फोन लिन बोलाए, “भाइ मोबाइल बन्यो । रिकभर गर्नु परेन ।” 

“अनि मैले दुई दुई दिन लगाएर मनाएको शोक अनि बनाएको लिस्ट नि ?”

दाइले बुझेनन् । म निस्किएँ ।

12 Khari

Comments

Popular posts from this blog

प्रधानमन्त्रीलाई चिठ्ठी : हरेक दिन ऐंठन पर्छ कामरेड !

  डियर कामरेड, लकडाउनको तेस्रो किस्ता थपिएपछि तपाईंले अघिल्लो पटक  देशवासीका नाममा गरेको सम्बोधन र बढ्दो लकडाउनसँगै आम मानिसको दैनिकी र जीविकोपार्जनमा देखिएको पछिल्लो घटनाक्रमका कारण यो पत्र लेखेको छु । बन्दाबन्दी अकस्मात भइदियो, तर यो स्वभाभिक थियो । शक्ति र सामर्थ्यमा हामीभन्दा निक्कै उच्च र बलवान् राज्यहरुमा पनि कोरोनाको कहर चुलिँदै जाँदा सीमित श्रोत साधनमा जुझिरहेका हामीलाई लकडाउन सरल र एक मात्र उपाय लाग्नु स्वभाविक नै थियो । हामी डेरामा बस्छौँ । हाम्रो तलामा तीनवटा कोठा छन् । हामी तल घरको गेटमा पनि नपुगेको आज २३ औं दिन भइसकेको छ । केही अत्यावश्यक सरसामान किन्नका लागि भने मम्मी बाहिर निस्किनुहुन्छ । नत्र हामी लकडाउनको पूर्ण पालनामा छौं । किनकी मलाई थाहा छ, सरकारले गरेको लकडाउन मलाई र मेरो परिवार बाँचून भन्नका लागि नै हो । सरकार म लगायत करोडौं जनताप्रति संवेदनशील छ भन्ने मलाई थाहा छ । यो त मेरो कुरा भयो काम्रेड । तपाईंको सुनाउनुस् ! कसो छ ? देश लकडाउनमा गएको २३ दिन पुग्दैछ । तर, तपाईं र तपाईंको सरकार लकडाउनमै बसेको महिनौ भएक...

झोला महात्म्य

  “शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउटा झोला बनाए ।...