Skip to main content

(कथा) अनि बीपी-मदन एकअर्कालाई हेर्दै मुस्कुराए


पुसको  चिसो । तापक्रम दिनानुदिन घट्दै छ । राजनीतिक गर्मी झन्‌झन् बढ्दो छ ।

रेडियोमा समाचार छिनछिनमा प्रसारित छन्, एक घन्टाअघिको समाचार अहिलेको बुलेटिनमा मिल्दैन । घटनाक्रम बदलिसकेका हुन्छन् । टीभीका प्रस्तोता भने थरीथरीका वक्तालाई स्टुडियोमा बोलाएर झपारिरहेका छन्, के तिनमा प्रश्न सोध्ने शालीनता र उत्तर सुन्ने धैर्य छैन ? कोरोना हराइसक्यो, शहरमा आर्थिक, सामाजिक अनि राजनीतिक चहलपहल बढ्दो छ ।

हाइवे लोकन्थलीबाट हिँडेर जडीबुटी आउँदै छ । ऊ मनोहरा फाँटको अँध्यारो बाटोमा हिँड्दै छ । आज साँझ काभ्रेली खाजाघरमा उसले तीन पिलेट भुटन, दुई हाफ खुकुरी रम र छवटा खुकुरी चुरोट खाएर आफ्नो डेरा फर्किंदै थियो । हाइवेको बाटो सही थियो, चाल सही थिएन । ऊ रमले मातेकाे थियो ।

बाटोमा दुई मान्छे टर्च बालेर त्यही बाटो हिँड्दै थिए । तिनीहरूले हाइवेको मुखमा टर्च बाले ।

'बटुवातिर टर्च नतेर्स्याउनुस् महोदय, बाटोमा बाल्नुस्, लडिएला', हाइवेले भन्यो ।

'हाम्लाई चिनेनाै ?'

'बल्ल चिनेँ', मदन भण्डारी र बीपी कोइराला मध्यरातमा मनोहरा फाँटमा भेटिएका थिए ।

'कहिले आउनुभो ? कस्तो छ माथि ?'


मलिन स्वरमा बीपी बोले,'माथि सबै ठीक छ । बरु यता कसो छ भनेर बुझ्न आएका हौँ ।'

मदनले पनि थपे, 'तिम्ले हाम्लाई शहर डुलाउनुपर्छ र सबै कुरा देखाउनुपर्छ है !' 

हाइवे फसादमा पर्‍याे । मध्यरातमा अब दुई आत्मालाई उसले शहर डुलाउनुपर्नेछ ।  

'हेर्नुस् दाजुहरू, अहिले डुलेर हुँदैन । दिनमा डुल्नुपर्छ, म भोलि घुमाउँछु है, अहिले बरु मेरोमा गएर बसौँ', हाइवेले प्रस्ताव राख्यो ।

डेरा छिर्नेबित्तिकै थकानले हो कि मातिएर हाे, हाइवे ओछ्यानमा ढल्यो ।

०००

हाइवेको कोठा शान्त अनि अँध्यारो छ । एउटा टेबुल, एउटा खाट एउटा किचेन र्‍याक अनि पुस्तकले जतनले सजिएको एउटा दराज । दराजमा मिलाएर राखेका नेपाली अनि अङ्ग्रेजी किताब छन् । एउटा भित्तामा शिवजीको ठूलाे फोटो छ, अनि अर्को भित्तामा बुद्धको । दक्षिणपट्टि फर्किएको एउटा झ्याल छ । झ्यालबाट घाम आएको हाइवेलाई आजसम्म थाहा छैन ।

बिहान भइसकेकाे थियो, हाइवे ८ बजे बिउँझियो ।

छेउमा मदन-बीपी चिया खाँदै थिए । टेबुलमा अर्को फिक्का (कालो ) चियाको गिलास छ ।

'हाम्ले त जसोतसो खोजखाज गरेर चिया पकायाैँ', बीपी सान्दाजु बोले ।  

'कोठामा चिनी छैन नि सान्दाजु, चिनीका कुरा अहिले भनूँला ।'

केही दिनदेखि मैले चिनी किन्न सकेको छैन' हाइवे सुस्केराभावमा बोल्यो 

०००

मध्याह्न १२ बजे हाइवे मदन र बीपीलाई लिएर घुम्न निस्कियो । जडीबुटी, कोटेश्वर, बानेश्वरहुँदै गाडीले तीन जनालाई सुन्धारा ओराल्दियो । उनीहरूले पश्चिमतिर ठूलाे धरहराको स्वरूप देखे ।

'२० तल्ला ढलान भइसक्याे, शहरमा यति अग्लो घर कुनै छैन । यो अहिलेको शासकले गर्‍या सबैभन्दा ठूलो अनि राम्रो काम हो रे । यहाँ काम गर्ने मजदुरको १ बजे खाना ब्रेक हुन्छ, अनि कसैलाई थाहा नदिई माथि चढौँला र म तपाईंहरूलाई शहर अवलोकन गराउँछु है',  हाइवेले भन्यो ।

०००

१ बज्यो, ठूलो आवाजमा घन्टी बज्यो । यो समय खाना खाने बेलाको थियो ।

लिफ्टमा हाइवे, मदन र बीपी पनि चढे ।

निर्माणाधीन धरहरा कति तला पुग्यो, त्यो अखबारमा मात्र थाहा हुन्थ्यो । टुप्पोमा पुगेसी हाइवेले भन्यो, 'यो तपाईंहरूकै शहर !' सोध्नुस् प्रश्नहरू । म बताऊँला सबै । यहाँबाट सबै देखिन्छ ।

०००

मदन र बीपीले आफ्ना आँखाले भ्याएसम्म शहर हेर्न थाले । कतै आफ्नै मैलो सालिक देखे अनि कतैकतै आफ्नो अनुहारको पम्प्लेट र ब्यानर पनि । 

'अझै रै'छन् त,' दुवै खित्का छोडेर हाँसे । हाइवे हाँसेन

 । उनीहरूले चन्द्रागिरिको अग्लो डाँडादेखि भ्याइन्जेल भञ्ज्याङका भुइँ फेदीका शहर हेरे ।  

'सान्दाजु; शहर त घरले ढाकिसकेछ नि है', मदन बोले ।

'मदन, ऊ त्यहाँ हेर त, त्यो सिंहदरबारअगाडिको जंगेको घोडावाला सालिक । जंगे त लम्पसार भुइँमा छ, घोडा छैन त ? कता गएछ ?', बीपीले मदनतिर हेर्दै साेधे ।

'ओ हाइवे, खै घोडा ?', बीपीले सोधे ।

हाइवेले भन्यो, 'सान्दाजु ! अहिलेका शासकलाई शक्तिको बिच्छट्टै रहर छ । उनी अचेल आफ्नो क्षमता भन्दा बढीको शक्ति अभ्यास गर्छन् । उनमा शक्ति सञ्चयको लालसा र हुटहुटी छ । उनी भष्मासुरपथमा छन् । अस्ति घरमा झगडा पर्दा गाउँको चौतारीमा डोजर लाइदिए । उनी घोडा चढ्छन्, घोडामै दौडिन्छन्, कसैलाई गन्दैनन्, कसैलाई सुन्दैनन् । ऊ पर हेर्नु त, त्यो घोडा त बालुवाटारमा बाँधिराखेको छ ।'

'हो त रै'छ नि ।'

मदन र बीपीले थोरै उत्तरतिर आँखा डुलाए बडेमानको घोडा त बालुवाटारमा छ । धरहराबाट शहरका साना-साना कुरा देखिइरहेका थिए ।

०००

'ओइ हाइवे, त्यो माइतीघरमा हलो बोक्ने को हुन् ? किन आएका हुन् ? रोडमा बोट बोकेर बसेका छन् त, कोही रुँदै पनि छन् ?', मदन दाइले आश्चर्यभावमा सोधे ।

'ती चिनीका दाना हुन् मदन दाइ । आज हाम्ले बिहान चियामा हाल्न नपाएका चिनीका दानाहरू अचेल माइतीघरमा आन्दोलन गर्छन् । दिनभरि नारा लाउँछन्, कराउँछन्, साहुलाई पैसा तिर्दिनुस् भनेर गुहार्छन् । साहुले उखु बोकेर लग्यो, हिसाबको कागज दियो तर चल्ने कागज (भुक्तानी) आजसम्म दिएन । ती किसान हुन् ।

चिनी साहुहरू सबै नेता छन् । सबै पार्टीका छन्, कमाउँदा पनि हुन् । तर, ती  किसानको पैसा आजसम्म उठेको छैन', हाइवेले जवाफ फर्कायो ।

'सर्वहाराकै सरकार छ भनेको हाेइन त अचेल ? अनि किसान सडकमा कसरी ?', बीपीको प्रश्न जटिल थियो ।

'बिचौलियाको चाहिँ सरकार छ सान्दाजु, यो देशमा सर्वहारा पनि बाँकी होलान् र ?', हाइवेले भन्यो 










०००

'ऊ त्यहाँ केको भोज हो हाइवे ?', मदन दाइले प्रश्न गरे ।

हाइवेले खुल्लामञ्चतिर हेर्दै भन्याे, 'थापाथली पुलमुनि हेर्नुस्, पशुपति मन्दिरनेर हेर्नुस्, यस्तो भोज त्यता पनि छ । त्यो भोज हाेइन दाइ । कोरोना ब्याधिले जागिर, इलम र मागिखाने भाँडो पनि गुमाएका, बिहान बेलुकी खान नपाएकाहरू दिउँसो एक पटक त्यसरी जम्मा हुन्छन् र कोही मनकरीले खाना खुवाउँछ कि भनेर पर्खन्छन् र दिनको एक छाक खान पाउँछन् ।'

'सरकारले हेर्दैन ?', मदन दाइ सोध्छन् 

'भन्दै छु त दाजु, सरकार छाडा छ । ऊ आफू र आफ्नाबाहेक कसैलाई कोही अनि केही गन्दैन । उसलाई धेरै कुराको मतलब छैन । उसलाई शक्ति र पैसासँग मतलब छ । उसले त ती खाना खुवाउने मनकरीलाई अब आइन्दा नखुवाउनू भनिसक्यो', हाइवेले भन्याे ।

'अनि सरकारलाई नियन्त्रणमा राख्न प्रतिपक्षी छैन ?', बीपी सोध्छन् ।

'तीन वर्ष भइसक्याे सान्दाजु, देशमा प्रतिपक्षी नभेटेको नदेखेको । अस्ति कुन्नि कताको फुच्चे पुल उद्घाटनमा भने केही गाउँले प्रतिपक्षीलाई देखेजस्तो लाग्यो भन्दै थिए', हाइवेले प्रतिपक्षीका कुरा सुनायो ।

०००

केही आवाज, कोही रोइरहेको आवाज आएको जस्तो सुनिन्छ । तीनै जना एकै पटक वीर अस्पतालतिर हेर्छन् ।

'त्यो चिच्याउने बच्चा को हो ?', मदन दाइ सोध्छन् ।

हाइवेले भन्यो, 'त्यो धारा नं १७६ को पेसेन्ट संविधान हो । हिजो मात्र ऊमाथि सांघातिक आक्रमण भयो । हिजो Admit भएको हो । केही महिनाअघि मात्रै भर्खर पाँच वर्ष पुगेको हो । सबैले माया गर्थे तर आफू अनूकूल व्याख्या र प्रयोग गर्थे । अस्ति शासकले जंगेको घोडामाथि चढेर संसद् विघटनको छुरी रोप्दिएछन् । रन्थनिएर यतै छ।'

'पल्लो बेडमा पल्टिएको बिरामी को हो नि हाइवे ?', मदन दाइ सोध्छन् ।

'लोकतन्त्र हो दाजु । कोमामै छ । १२ वर्ष भइसक्याे, कोल्टे फेरेको छैन । उता रोडपारि शिवरात्रि, गणतन्त्र, प्रजातन्त्र दिवसहरूमा राषट्रपतिले भाषण गर्दा अनि सेनाले बुट बजार्दाचाहिँ मुस्कुराउँछ रे,  नर्सहरूले भनेको सुनेको ।' 

०००

'त्यो डाँडाको टुप्पोमा लामा-लामा सिङ भाको जनावरजस्तो देखिने के हो हाइवे ?'

'त्यो कोरोना भाइरस हो सान्दाजु । जति नै जोड बल गरे नि नेपालीलाई सकिएन भनेर फर्किन खोज्दै छ । तर जानुअघि एक पटक शहर नियालिराख्या'छ । नेपाली बुद्धको देशका बुद्धु रै'छन्, त्यत्रो महाब्याधिलाई नि टेरेनन् भनेर निराश छ बिचरा ।

०००

मदनले घामतिर हेरे । बिस्तारै साँझतिर ढल्दै गरेको घामलाई दुई जनाले बडो जोडबलले तान्दै छन् ।  

घाम तानातानले मलिन भएर घाममै पसिना आएको छ ।

'को हुन् तिनीहरू हाइवे ?' 

'ती तपाईंले बनाउनुभाको पार्टीको सुप्रिमो नेताहरू हुन् मदन दाजु । अहिले पार्टी फुटाए क्यार । अब चुनाव चिह्न कसले लिने भनेर लडिराखेका छन् ।'

मदन मुस्कुराए मात्र ।

०००

'त्यो नागार्जुन डाँडामा कुर्सीमा बसेर घरि शहरतिर, अनि घरि आकाशतिर फर्केर हाँस्ने को हो ?', बीपी प्रश्न गर्छन् ।

'ती पूर्वतानाशाह हुन् सान्दाजु । अचेल हर्षित छन् केही दिनदेखि कुन्नि । मलाई निकालेर शक्तिमा आएकाहरू पनि चाँडै सकिँदै छन् भनेर गमक्क परेका छन् । अहिले राजा धेरै छन्, पूर्वराजाचाहिँ एक्ला ।'

यो सुनेर बीपी-मदन एकअर्कालाई हेरेर मुस्कुराए मात्र ।

०००

'को हो हँ त्या ?', कसैले पछाडिबाट सोध्छ ।

हाइवे आत्तियो । वरिपरि हेर्‍याे, कोही थिएन ।

मदन दाइ, सान्दाजु कता गए कता ।

'कसरी आउनुभो यहाँ ? खुरुक्क तल जानुस् । कि पुलिस बोलाइदिऊँ ?'

टाउकोमा सेतो हेल्मेट लाउने इन्जिनियरले हाइवेलाई थर्कायो ।

त्यत्ति नै बेला हाइवेको मोबाइलमा अलार्म टोन बज्यो ।

(शिलापत्र डट कममा प्रकाशित  )


Comments

Popular posts from this blog

फोन

  म इन्द्रावती खोलाको झोलुंगे पुलमा छु । मान्छेहरू आवतजावत गर्दैछन् । बालबच्चा, बूढाबूढी, तरुना–तरुनी सबैजना आफ्नै रफ्तारमा खोली तर्दैछन् । नयाँ ठाउँ पुग्नेबित्तिकै मान्छेले अचेल दुई काम गर्छ । या त फेसबुकमा फलानो ठाउँमा छु भनेर ‘चेक–इन’ गर्छ या मोबाइलमा मुख चुच्चो पारेर झिल्मिलाउँदो सेल्फी खिच्छ । कलेजको टुरमा मेलम्ची पुगेको मलाई सम्झनाको खातिर तस्बिर खिच्नु कुनै नौलो कुरो थिएन । एचटीसी–८२० मोडलको मोबाइल झिकें । हामीजस्ता कालो वर्णका पुरुष तथा महिलाका लागि रेट्रिका र स्विट सेल्फी छ, अनुहारमा कृत्रिम चमक थपिदिनका लागि ।  मोबाइलले १–२–३ भन्दै टाइमर दिँदै थियो । अकस्मात् मेरो हातबाट मोबाइल झ्याम्मै भुइँमा खस्यो । झोलुंगे पुलको बीचतिर भएको भए त मोबाइल खोलामा खस्थ्यो । धन्न म पुलको छेउँमा भएकोले मोबाइल बगरमा खस्यो । जेहोस्– मैले आफ्नो फोनलाई श्रद्धाञ्जली दिनु परेन । बडो दुःखले ओरालो झरेर बगरमा सेतो रङको आफ्नो उही चिरपरिचित फोन भेट्दा मन दंग थियो । फोन कस्तो अवस्थामा छ भन्दा पनि फोन भेटियो भन्ने कुरामा अन्तरिम खुसी भइयो । चिसो भइसकेको मन र हराइसकेको धड्कन यसरी बिजुली गतिमा दौडियो कि मानौं उ

कान्छी , होली र बसन्तपुर

  पछिल्लो भेटमा   कान्छी ले मतिर फर्केर भनिन "यो पटकको होली बसन्तपुरमा मनाम न है.." है पछाडी उद्गार चिन्ह छ यो प्रश्न थिएन सुझाब पनि थिएन यो योजनामाथिको लालमोहर थियो म अवाक भए बोल्न सकिन आवाज निस्कदै निस्केन न मौन समर्थन,न चर्को बिरोध अह म बोलिन ।। दिउसो चिया भेटमा साथीले बडो मज्जाले भनेका थिए अङ्ग्रेजी हुन्कारका साथ "Holi is a sexy festival its all about opportunities " बसन्तपुर गैन्छ छोटा भिजेका लुगाहरु कलिला तिघ्राहरु बयस्क गालाहरु छुने मुसार्ने अनि त के के के के म  कान्छी लाइ लिएर बसन्तपुरमा कसरी जाम म आफ्नै साथीसँग आफ्नी  कान्छी लाइ जोगाउन सक्दिन भने होलीका नाममा नशामा मात्तिएका आबेगमा लठ्ठिएका हजारौ पिपासुबाट मेरी  कान्छी लाइ उसकै सर्वप्रिय ठाम बसन्तपुरमा कसरी जोगाउछु म  कान्छी लाइ के भनम कारण के बताम आफ्नो मौनताको म उसलाइ उसले लाउने लुगामा बन्देज लाउन सक्दिन उसको पसन्द ना पसन्दमा पनि बोल्न सक्दिन न त बसन्तपुर नजाम भन्न नै सक्छु ।। कहिले चाडका नाममा कहिले मेलापातका नाममा कहिले झलमल्ल अध्यारोमा कहिले निस्पट उज्यालोमा कहिले बसमा कहिले माइक्रोको अन्तिम सिटमा आजपन