Skip to main content

शून्य

 घर ढिलो पुगेँ। रेस्टुरेन्टमा अलिअलि काम त भइहाल्छ नै। बाइक पनि थोत्रो भएछ कि के हो ! पुतलीसडकबाट बालाजु आइपुग्न राति १० बजे पनि २५ मिनेट लाग्यो। दसैँमा बाइक फेर्नुपर्छ जस्तो छ। व्यापारमा त्यस्तो मनग्य आम्दानी पनि छैन। घरबेटीले भाडा बढाउँछु भनेको छ, वैशाखदेखि। केटाहरूले पनि थोरै भए नि सबैको तलब बढाइदिनु भन्न थालेको महिनौँ भइसक्यो। 

बाइक थन्क्याएँ। घरका सबै सुतिसके होलान्। आध्यालाई मिसकल गरेँ। ढोका उघारिदिइन्। केही घर परबाटै बाइकको स्टार्ट बन्द गरेर डोहोर्‍याउनुपर्छ। हल्ला हुन्छ भनेका छन् घरबेटीले।
शून्य

आध्या खाना तताइदिन लागिन्। आरोग्य आज पनि सुतिसकेछ। म आउँदा सुतिसक्छ। म निस्किँदा उठेकै हुँदैन। भुइँचालो आएको सालको हो आरोग्य, उमेर पूरै पाँच लागिसकेको छैन। 
भात पस्केसि आध्या छेउमा आएर टुक्रुक्क बसिन्। सुनाउन थालिन्, ‘अब केही दिनमा लकडाउन सुरु हुन्छ। हामी पनि घर जाने कि ?’ 

मैले नि हल्ला सुनिसकेथेँ। शंकरदेवका नेता भाइहरू त्यसै भन्दै थिए। चुरोट–चिया खाँदै उनीहरू लकडाउनले पार्ने सामाजिक–आर्थिक पाटोबारे घन्टौँ रेस्टुरेन्टमा बसेका थिए। 
‘घर जाऊँ, दुःखसुख हुन्छ। सहर त यस्तै त हो। आफ्नो कहिल्यै हुँदैन। जाओ भन्दैन, खेदाउँछ। नाकाबन्दी होस् वा भुइँचालो, सहर घर हुनेलाई मात्र हो। कोठामा बस्नेलाई सहर कहिल्यै आफ्नो हुँदैन।’ म सुनि मात्र रहेँ। 
लकडाउन लामो नहोला। जानुहँुदैन। कोरोना गइजान्छ, मुटु दह्रो बनाउनुपर्छ। घर जानू पनि त समाधान हैन। यता त बरु सुविधा हुन्छ, उपचार हुन्छ। गाममा त उपचार नपाएर मरिन्छ, यतै बसौँ। 
०००
आध्याको तरकारी पसल र मेरो रेस्टुरेन्ट बन्द भयो। भाइहरूलाई थोरैथोरै पैसा दिएर घर पठाएँ। बैंकको बचत निकालेँ। आध्याले नि त्यसै गरिन्। हामी लकडाउन मनाउन वा मान्न सुरु गर्‍यौँ। लकडाउनअघि फेमिली टाइम टुटेका थिए। हामी दिनभरिमा चार टाइम खाजा खान्थ्यौँ। योगा अनि ध्यान गथ्र्यांै। टीभी हेथ्र्यौं अनि बूढाबूढी छोरा रमाइलो गथ्र्यौं। समयसँगै बिस्तारै रचनात्मकता घट्दै अनि दिक्दारी बढ्दै गयो। म साना कुरामा झर्किन सुरु गर्थें। छोराले टीभी हेर्दा रिसाउन थालेँ। उसले मोबाइल माग्दा रिसाउन थालेँ। ऊ हिँड्न, कुद्न नपाएर दिक्दारी मान्दै थियो। म बुझेर पनि नबुझ्ने बनिरहेको थिएँ। छोरा भुलाउन मसँग मोबाइल र टीभी मात्र रहेछ। थरीथरी रङका कलम रहेनछ, खेलौना रहेनछन्, विभिन्न तस्बिर अनि जनावरका फोटो भएका किताब रहेनछन्। बालमैत्री किताब रहेनछन्। मानव सभ्यताको भागदौडमा बच्चासँग रमाउने अनि खुसी हुने कला त सहरले थुतिसकेको रहेछ, मबाट।
०००
लकडाउन झन्डै महिना दिन पुग्दैथ्यो। संक्रमितको संख्यामा त्यस्तो वद्धि भइरहेको थिएन। स्थिति सामान्य बन्दैथ्यो। बाहिर हिँड्न, डुल्न नपाए नि अत्यावश्यक चिज लिन बाहिर जान थाल्ने अवस्था आइसकेको थियो।
आध्याले एकाबिहानै भनिन्, ‘गाउँपालिकाका अध्यक्षले गाडी पठाउने रे। हामी जाम् है।’ भाडा एक जनाको १५ सय मात्र पर्छ रे। गाउँ गएसि छोरो घुम्न–डुल्न पाउँछ। आफन्त चिन्छ, फाँट देख्छ, खुसी हुन्छ, दुःख देख्छ, ताजा दूध खान पाउँछ, ऐँसेलु, काफल खान पाउँछ। हामी जाम है, योपटक जिद्दी नगर बूढा।
अब कोरोनाको संक्रमण बढ्दैन, २०÷३० केस सामान्य हो। खर्च गरेर त्यति लामो बाटो जानु व्यर्थ पनि त हुनुहुन्न। लकडाउन छिट्टै खुल्छ। यतै बसौँ, अर्को हप्ता खुल्छ।
आध्याले मुन्टो हल्लाइन् तर खुसी देखिइनन्।
०००
छोरो टीभीमा मोटु पत्लु हेर्दै छ। उडी बाबा भन्दै हाँस्दै छ। यो देशमा नेपाली कार्टुन छैनन्। राम्रा बाल कार्यक्रम छैन। सृजनशील मान्छे छैनन्। लोककथा सुनाउने वाचक छैनन्। तिनलाई धारावाहिक बनाउने कोही छैनन्।
टीभी बन्द गर्दिएँ। बाबा अब रुद्रा आउँछ एकछिन हेर्न दिस्यो न। धेरै टीभी हेर्नहुन्न आँखा खराब हुन्छ। ऊ मान्दैन।
हजुरले दिनभरि मोबाइल चलाउदा हजुरको आँखा खराब हुँदैन। मसँग जवाफ छैन, मसँग मोबाइलमा कलब्रेक खेल्ने र युट्युब चलाउनेबाहेक दैनिकी पनि त छैन।
०००
लकडाउन दुई साता लम्बिने। एकैदिन थपिए ८७ संक्रमित। समाचार यस्तो छ। 
छेउको कोठाकी दिदीले भनिन्, ‘त्याँ चोकबाट पनि मान्छे लगे रे चेक गर्न।’ अलिअलि खुकुलो भइसकेको मनस्थिति फेरि बिथोलियो। केही सहज भइसकेको दैनिकी फेरि अस्तव्यस्त भयो। 
०००
आरोग्यलाई सन्चो नभएको दुई दिन भयो। उसलाई बान्ता आएको छ। मेडिकलबाट ल्याएको ओखतीले छोएको छैन। औषधि पसलेले कान्ति लैजानुस् भने। मोटरसाइकल काम आउने थिएन। छोरालाई काँधमा बोकेर कान्ति निस्किएँ। छोराले बाटोमा केही सोधेन, अरू बेला सधैँ केही न केही प्रश्न सोध्थ्यो। बाले दिक्क मान्छ भनेर सोधेन होला। म जवाफ फर्काउँथेँ होला कि नाइँ ! लकडाउनले विरक्त भइसकेको म जिज्ञासु छोराको अगाडि निरीह पो हुन्थेँ कि ! बालाजुबाट सामाखुसी चौकी हुँदै उकालो लागेर कान्ति पुगेँ । अस्पताल न हो, त्यसमाथि सरकारी। उसै त उबेला देखि अस्तव्यस्त लकडाउनले अझ बहाना पाएका। 
डाक्टरले आरोग्यको पेटमा स्टेथेस्कोप चलाए अनि दुई÷चार औषधि लेख्दिए। छोरालाई फेरि काँधमा बोकेँ र चक्रपथको बाटोमा हिँडिरहेँ। सधैँ व्यस्त सडक ट्याट्याट टुटुट गुड्ने सडकमा किन कम गाडी छन्। बाले किन मलाई मास्क लगाएर नखोल्नू भनेका छन्। बाले यति लामो बाटो बाइक किन ल्याएनन्, छोराले सोधेन।
०००
बाले गाउँबाट फोन गरे।
(ढोग गरेँ) 
तेरो घमण्डले दुःख पाइस्। तँ गाउँ आउनुपथ्र्यो।
(यति लामो लकडाउन होला भन्ने कसलाई थाह थियो र ?)
(गाउँपालिकाको गाडीमा किन नआको ? तँबाहेक सबै गाउँ आका छन्। दसैँ आएजस्तो भाछ। दुई दिनमा बिराएर खसी काट्छन्। तेरो बुद्धिले डेरामा सडिइस्। कसैले भनेको मान्दैनस्। कस्तो रोग आयो। बाँचिन्छ, मरिन्छ कुनै टुंगो छैन। सबै परिवार सँगै पनि भइएन।
हस् भन्दै फोन राख्दिएँ। बा अझै बोल्दै थिए, गाली गर्न खोज्दै थिए। 
बासँग कहिल्यै फोनमा बोल्न जानिएन। उ बेला विद्यार्थी बेला नि आमालाई फोन गरेर भन्नुपथ्र्यो। पैसा चाहियो, पास भएँ, छुट्टी भयो, भोलि घर आउँछु आदि इत्यादि। बासँग दोहोरो बात गर्न कहिल्यै जानिएन। बासँग कहिल्यै सौहार्द सम्बन्ध भएन। 
०००
(कीर्तिपुरमा एक भरिया सूर्य तामाङको सडकमै मृत्यु) 
(गाउँलेले लखेटेका युवाको भेरीमा हाम फालेर ज्यान गयो) (एक वृद्धले ठेलामा श्रीमती लिएर अस्पताल पुर्‍याए। श्रीमती किड्नी प्यासेन्ट) 
(कोरोना किटको अभावमा धेरै ठाममा परीक्षण रोकियो) 
(प्रधानमन्त्रीको रात्रिकालीन कविता ‘अब कोहीले रुनु पर्दैन’) 

यी हेडलाइन क्रान्तिका हुन् कि नियतिका ? हामी यसरी बाच्दैनौँ। समाचार हेर्न छाडियो। समाचारको अर्थ हुन्छ सूचना दिने अनि जानकारी बनाउने। यी समाचारले सूचना कम, विष ज्यादा घोल्छन् रगतमा। घरभित्र हामी थुनिएको बेला सरकारका गतिविधि त्यति प्रभावकारी भएन। कसलाई सुनाउने, कसले सुन्दिने। सरकार आफैँ रिपोर्टिङको अभावमा अन्टसन्ट बोलिरहन्छ। घरमा बसेर यो लेभलको रिस वा पीडा असह्य हुँदै छ।
०००
सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिने रे। विदेशका नेपाली ल्याएर के देश सोत्तर बनाउने ? 
रेमिट्यान्समा त भेदभाव थिएन त। सबल हुँदा त कसले वास्ता राख्छ। सक्दिनँ दुःख पायौँ भन्दा यत्रो वैरी व्यवहार। संकटका बेला को आफ्नो परिवारसँग बस्न चाहन्न र ? 
क्वारेन्टिनमा बसेको युवकको मृत्यु, केही दिनअघि भारतबाट आएका थिए। समाचार।

हामलाई मार्न किन आएको होला ? बस्न सक्दैनथ्यो भारतमा। कति बसोस्, कसरी बसोस् त्यत्रो ४५ दिन त सहेरै बस्यो। आफ्नो घर आफ्नो परिवार कसलाई मतलब हुन्न र। हिँड्यो, आयो। टिनको छानामा धेरै मान्छे बसालेको र राम्रो खाना खुवाउन नसकेर सुविधा नपाएर ऊ मरेको हो। उसले राति अप्ठ्यारो हुँदा एक पुरिया जीवनजल मात्र पायो। एम्बुलेन्स आएन उसलाई अस्पताल पुर्‍याइएन। उसको शव पनि निकै समय कसैले छोएनन्, उठाएनन् रे। कठै गरिब भएर मर्नुपर्ने अनि नियतिले ठग्नुपर्ने यसरी नै हो। मलाई थाहा छ, ऊ मरेको कुरा प्रधानमन्त्रीलाई सूचना छैन। 
कोरोना अब नियन्त्रणमा छैन।
०००
अब कमाइका बाटो बन्द भएको महिना भइसक्यो। दुवैको इलम जागिर थिएन। कमाएर खानुपथ्र्याे। दैनिक पैसा चलाउन खेलाउन पाइन्थ्यो तर अचेल छैन। बचतको झिकेर ल्याएको पैसा पनि अब सकिँदै छ। लकडाउन खुलेकै भोलिपल्टै अवस्था सहज भइहाल्ने पनि हैन। अब केही दिनमा संकट आउँदै छ। रासन सकिँदै छ, हातको पैसा र बचत पनि। बैंकमा छैन, आउने ठाउँ छैन, माग्ने ठाउँ पनि उही त हो सबैलाइ पीर। 

भोकले सबैभन्दा ठूलो क्रान्ति जगाउँछ। म क्रान्ति गर्ने मनस्थितिमा छैन। मेरो हालत त यस्तो छ। भाइहरूको हालत कस्तो छ ? के गर्दै होलान् ? के सोच्दै हुन् ? एउटा भाइको आमालाई त हरेक हप्ता डाइलासिस गर्नुपर्ने। कसरी गर्दै होला ? फोन पनि त गरेको छैन। फोन नै गरे नि मैले के नै गर्नसक्थँे होला र ? सक्छु होला र ? म नै कति टिक्छु होला र अब त !
०००
भूमिसुधार मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गर्‍यो। भारतले कडा शब्दमा टिप्पणी गर्दै भन्यो, ‘अस्वीकार्य छ’।
अब नाकाबन्दी हुन्छ है बूढो, आध्याले भनिन्।

छिमेकीसँगको सम्बन्ध किन नाकाबन्दी होला भनेरै सकिन्छ ? के साँच्चै नाकाबन्दी होला र ?

मसँग त रासन थुपार्न, ग्यास लुकाउन पनि पैसा छैन। छिमेकीसँगको सम्बन्ध किन नाकाबन्दीमै जोडिन्छ ? हामीले संविधान जारी गर्दा नाकाबन्दी भाथ्यो नि त। छिमेकी हामीलाई खुसी देख्न चाहन्न। तर, हामी सधँै किन कूटनीतिक रूपमा विपत्तिको बेला असफल हुन्छौँ।
उहिले भूकम्पले थलिएका थियौँ। अहिले कोरोनाले। जे होस् सम्बन्ध सुमधुर भइरहोस्। उसको ग्यास पेट्रोलले चलुन्जेल उसले गिज्याइरहन्छ।
मान्छे होस् वा देश, गरिब भएसि चल्न वा बाँच्न गाह्रो हुने रहेछ।
०००
लकडाउनलाई अझ कडा बनाउने सरकारको निर्णय। काठमाडौँ छिर्ने सबै नाकामा अझ कडाइ। संक्रमितको संख्या ६७५ नाघ्यो। लकडाउन एउटा र अन्तिम विकल्प होस् मानियो तर किन र कहिलेसम्म ? कसका लागि हो यो लकडाउन ? किन संक्रमितको संख्या घट्दैन ? किन सरकारले जनताका लागि गरेको कोसिस र गतिविधि शंकास्पद छन्। यो सरकार कसको हो ? ऊ के चाहन्छ ? के यो लकडाउन वर्षभरि हुन्छ ? 

थोरै बचत अनि केही इच्छाशक्तिले दुई महिना त बाँचियो। अब अलि गाह्रो हुँदै छ। सकिन्न कि लाग्दै छ। कोसिस गर्ने साधन र साध्य दुवै छैन। औसत कमाइ अनि औसत सपना बोकेको एउटा सानो बच्चोको बाउ दुःखी हुँदै छ। देशभर कति दुःख छन् ? कति छानामुनि दिनदिनै आउने समस्या अनि भविष्यको चिन्ताले पिरोलिरहेको होला !
काम गर्न दिए पनि हिजोजस्तै दुःख गर्नहुन्थ्यो। इलम गर्नहुन्थ्यो। दिमाग शून्य भइसक्यो। दैनिकीमा फर्काइदेऊ, प्लिज !

Annapurna Post




Comments

Popular posts from this blog

प्रधानमन्त्रीलाई चिठ्ठी : हरेक दिन ऐंठन पर्छ कामरेड !

  डियर कामरेड, लकडाउनको तेस्रो किस्ता थपिएपछि तपाईंले अघिल्लो पटक  देशवासीका नाममा गरेको सम्बोधन र बढ्दो लकडाउनसँगै आम मानिसको दैनिकी र जीविकोपार्जनमा देखिएको पछिल्लो घटनाक्रमका कारण यो पत्र लेखेको छु । बन्दाबन्दी अकस्मात भइदियो, तर यो स्वभाभिक थियो । शक्ति र सामर्थ्यमा हामीभन्दा निक्कै उच्च र बलवान् राज्यहरुमा पनि कोरोनाको कहर चुलिँदै जाँदा सीमित श्रोत साधनमा जुझिरहेका हामीलाई लकडाउन सरल र एक मात्र उपाय लाग्नु स्वभाविक नै थियो । हामी डेरामा बस्छौँ । हाम्रो तलामा तीनवटा कोठा छन् । हामी तल घरको गेटमा पनि नपुगेको आज २३ औं दिन भइसकेको छ । केही अत्यावश्यक सरसामान किन्नका लागि भने मम्मी बाहिर निस्किनुहुन्छ । नत्र हामी लकडाउनको पूर्ण पालनामा छौं । किनकी मलाई थाहा छ, सरकारले गरेको लकडाउन मलाई र मेरो परिवार बाँचून भन्नका लागि नै हो । सरकार म लगायत करोडौं जनताप्रति संवेदनशील छ भन्ने मलाई थाहा छ । यो त मेरो कुरा भयो काम्रेड । तपाईंको सुनाउनुस् ! कसो छ ? देश लकडाउनमा गएको २३ दिन पुग्दैछ । तर, तपाईं र तपाईंको सरकार लकडाउनमै बसेको महिनौ भएक...

झोला महात्म्य

  “शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउटा झोला बनाए ।...

फोन

  म इन्द्रावती खोलाको झोलुंगे पुलमा छु । मान्छेहरू आवतजावत गर्दैछन् । बालबच्चा, बूढाबूढी, तरुना–तरुनी सबैजना आफ्नै रफ्तारमा खोली तर्दैछन् । नयाँ ठाउँ पुग्नेबित्तिकै मान्छेले अचेल दुई काम गर्छ । या त फेसबुकमा फलानो ठाउँमा छु भनेर ‘चेक–इन’ गर्छ या मोबाइलमा मुख चुच्चो पारेर झिल्मिलाउँदो सेल्फी खिच्छ । कलेजको टुरमा मेलम्ची पुगेको मलाई सम्झनाको खातिर तस्बिर खिच्नु कुनै नौलो कुरो थिएन । एचटीसी–८२० मोडलको मोबाइल झिकें । हामीजस्ता कालो वर्णका पुरुष तथा महिलाका लागि रेट्रिका र स्विट सेल्फी छ, अनुहारमा कृत्रिम चमक थपिदिनका लागि ।  मोबाइलले १–२–३ भन्दै टाइमर दिँदै थियो । अकस्मात् मेरो हातबाट मोबाइल झ्याम्मै भुइँमा खस्यो । झोलुंगे पुलको बीचतिर भएको भए त मोबाइल खोलामा खस्थ्यो । धन्न म पुलको छेउँमा भएकोले मोबाइल बगरमा खस्यो । जेहोस्– मैले आफ्नो फोनलाई श्रद्धाञ्जली दिनु परेन । बडो दुःखले ओरालो झरेर बगरमा सेतो रङको आफ्नो उही चिरपरिचित फोन भेट्दा मन दंग थियो । फोन कस्तो अवस्थामा छ भन्दा पनि फोन भेटियो भन्ने कुरामा अन्तरिम खुसी भइयो । चिसो भइसकेको मन र हराइसकेको धड्कन यसरी बिजुली गतिमा दौडियो क...