Skip to main content

चिसो चिसापानी

 "भोलि एउटा ट्रिप प्लानिङ मिटिङ राखेको छु, आउनुहोला," 'हरियो ढुङ्गा' नाटक हेरेर शिल्पी थिएटरबाट बाहिरिँदै गर्दा अज्ञात सरले नयाँ वर्षको शुरुवाती हाइकिङ 'वान नाइट स्टे' वाला योजनाबारे रहस्योद्घाटन गर्‍यो ।

चिसो चिसापानी

"हस् !!" आज्ञाकारी भावमा मुन्टो हल्लाएँ । एक हप्ताअघि बिहीबारको कुरो थियो ।

गौशालामा मिटिङ बस्यो– एउटा सामान्य होटलमा । सामान्य होटलको अर्थ- जहाँ मान्छे भोक लागेपछि मात्र जान्छन् अर्थात् जुन होटलमा ग्राहक पुग्नेबित्तिकै तातो पानी, मेन्यु र वाईफाई पासवर्ड आउँदैन । एउटा सानै टेबलको वरिपरि पाँच थान जिन्दगीहरु अडिए । प्लान अर्कै लेभलमा थियो मैले जानेसम्म ।

"चिसापानी जाने भैयो, तपाईं हाम्रो गाइड," अजयले एक लेभल अपको प्लानिङ सुनायो । पछिल्लो असारमा लड्दैपड्दै रातको ८ बजे पुगेको थिएँ म ।

अजयले अर्डर गर्‍यो, "दिदी, ३ वटा नेपाल आइस, दुई प्लेट भुटन, एक प्लेट चिउरा अनि प्याज ।"

टेबल भरियो । अब ट्रेकको कुरा सुरु भयो ।

"चिसापानी जाने भैयो, तपाईं एकपटक पहिल्यै गएको भर तपाईं हाम्रो गाइड," अज्ञात सरले भन्यो ।

तपाईं सोच्दै हुनुहुन्छ होला- 'सर' किन ? मैले अज्ञातलाई तिमी वा नामले बोलाएको म स्वयंलाई याद छैन । उसले मलाई पनि 'बाटो सर' भनेर सम्बोधन गर्छ । 'हाइवे'को नेपालीकरण रे ! हु इज सिरियस अबाउट नेम इन नेपाल !

असारमा झमझम पानी पर्दा चिसापानी गएको सम्झिएँ । राति ८ बजे पुगेको सम्झिएँ । हिँडेको बाटो सम्झिएँ । टाँसिएका जुका सम्झिएँ । थाकेका पिँडुला सम्झिएँ ।

"ओके, अर्को शनिबार जाने भैयो है त," अमिलो सम्झना गर्दै कन्फर्म गरियो । नेपाल आइस पग्लिसकेको थियो ।

प्लानिङ मिटिङ दोहोर्‍याइएन । हामीबीच शनिबार दिउँसो ११:३० बजे गौशालामा सुन्दरीजलको गाडी चढ्ने भद्र सहमति भएको थियो । कसैले कसैलाई फोन नगर्ने, समयमा पुग्ने, उतै भेट्ने । बस् नियम यही थियो ।

घटना घटेको दिन:

घटना भन्नाले चिसापानी उक्लिने दिन । लोकन्थली चोकमा गाडी कुर्नुभन्दा पहिले ३० मिनेट साथी कुर्नुपर्ने भो । उसले आएर बनाउन सक्ने बहानामा म पूर्व जानकार थिएँ । मान्छेलाई ढिलो हुँदा गाडीमा तेल हाल्नुपर्ने हुन्छ, ट्राफिकले चिट काट्सिन्छ, हावा हाल्नुपर्ने हुन्छ आदि इत्यादि । भद्र सहमति उल्लंघन हुने निश्चित थियो । कोटेश्वरमा त्यस्तै भयो । ५०० को भौचर ग्लोबल आईएमईमा जाने भो । गाडी बिस्तारै धेरै बेरपछि गौशाला पुग्यो । हामी ओर्लियौं ।

सुन्दरीजलको गाडी चाबहिलमा प्याक हुन्छ । अघिल्लै स्टेसनमा चढ्नुपर्छ । गाइडले जानेको एउटा कुरा लागू भयो ।

गोल्डस्टार संयोग

ड्रेस कोड थियो- माथि डाँडामा चिसो हुन्छ । लुगा बाक्लो हुनुपर्छ । सबले गम्म ज्याकेट लगाएका थिए । सबले एक-अर्काका जुत्ता हेरे- एकैथरीको, एउटै मोडलका गोल्डस्टार जुत्ता ।

"बाटोमा जुत्ताको फोटो खिच्नपर्छ है," दीपक सरले भने । सबैले सहमतिमा मुन्टो हल्लायौं । यात्रामा ४ थान गोल्डस्टारे- अज्ञात सर, अजय सर, दीपक सर र म ।

सुन्दरीजल-मूलखर्क

चेकपोस्टमा ५६ रुप्पे गोटाका चार वटा टिकट अनि झोलामा दुइटा मिनरल वाटर, दुइटै वाइवाइ चाउचाउ बोकेर डाँडा उक्लिन थाल्यौं । अरु जेसुकै होस्- शत्रुलाई पनि मध्यदिनको घाममा उकालो चढ्नु नपरोस् भन्ने कामना गरिन्छ । मूलखर्क उकालोमा चर्को घाम छिचोल्दै पुगियो । अन्तिम एउटा होटल, जसमा ६ महिनाअघि चिया पप खान बसिएको थियो ।

"दिदी ! चियाबाहेक केही तातो पाइन्छ ?" दीपक सरले खाजामा चनाआलु, समोसा, चाउमिन खोज्दै थिए शायद ।

"तातो त रक्सी छ्याङ तताएर दिए मात्र हो भाइ," पसले दिदीले रमाइलो गर्दै भनिन् । उकालो उक्लिँदा भोकले लखतरान पेटले तीन प्याकेट पप बुत्ताइसकेछ ।

मूलखर्क - चिसापानी

अब गाउँ छोडेर उकालो-ओरालो हिँड्नु थियो- लगभग २ घण्टाजति । घाम बिस्तारै मधुरो हुँदै थियो । शीत्तल भएको थियो । अगाडि देखिने हिमशृङ्खला अनि पश्चिम क्षितिजमा कतै अस्ताउन दौडिएको घामको पृष्ठभूमिमा हाम्रो टोली चिसापानी पुग्दैथ्यो । बाटोमा भेटिए क्यानेडियन परिवार । क्यानडामा बस्ने पुरुषले चीनकी महिलासँग बिहे गरेका रहेछन् । ९ वर्षकी छोरीलाई लिएर चिसापानी हिँडेका दम्पतीको पेसमा हिँड्न सकिएन । होटल खोजेर खानाको अर्डर पनि दिनु थियो । क्यानाडावाला दम्पती पछाडि कुनै घुम्तीमै बिलाए । हामी अघि बढ्यौं । चिसापानी गाउँ पुग्दा नपुग्दै घाम अस्ताएर रात परिसकेको थियो । पर गाउँको पहिलो घरको बत्ती परैबाट देखेपछि अजय सर चिच्चाए, "बल्ल आइपुगियो । तोइट ।"

रूम नं. १०५

चिसापानीमा थोरै होटल छन्- ४-५ वटा मात्रै । अरु गाउँमा छन् । असारमै बसेको उही पुरानो होटलमा पुगियो ।

"दिदी ! त्यो कुनाको रूम खाली छ ?" गाइड म नै थिएँ ।

"छ भाइ ।"

त्यो होटलमा थोरै (५-६ वटा) कोठा थिए । ठीक त्यसकै अगाडि भुइँचालोअघि एउटा अर्को होटल हुने गर्थ्यो । पाँच तलाको त्यो होटलको भुइँतला धस्सिएको छ, बाँकी जस्ताको तस्तै । त्यो होटलका दाजु-दिदी जीवन जिउन सिकाउने प्रेरक केही मान्छेभित्र पर्छन् मेरा लागि । न नाम थाहा छ, न अरु केही तर सकारात्मकता कुरा सिकाउने र अघि बढ्ने ऊर्जा पाउँछु, जब-जब म चिसापानी पुग्छु ।

त्यही होटल अनि त्यही कोठामा म फ्ल्यासब्याकतिर पुग्दै थिएँ । खाना पनि अर्डर गरियो ।

सोच थियो बीबीक्यू गर्ने अनि आगो ताप्ने । दुबै भएन । अब लागियो अन्य व्यवस्थापनतर्फ । आधा दर्जन बियर, भुटेको बदाम, भट्मास, सुकुटी अनि त्यहाँको स्पेसल अचार टेबलमा थियो, अनि थियौं हामी चार दाजुभाइ । नयाँ वर्षको इभ चिसो चिसापानीमा चिसो बियरसँग सट्टापट्टा हुँदै थियो । थोरै-थोरै खाना खाएर लागियो रूम नं. १०५ ।

"भाइहरु सनराइज हेर्ने भए ६:४० मा उठ्नू है, शुभ रात्रि ।"

"म त सधैं ४ बजे उठ्छु, भोलि टक्क सनराइज हेरिन्छ," अज्ञात सर जोस्सिनुको लजिक थिएन ।

फोनमा ६:३५ को अलार्म लगाए दीपक सरले । मलाई थाहा थियो- कोही उठ्दैनन् चिसोले । म फोन अफ गरेर सुत्दिएँ ।

सूर्योदय-ब्रेकफास्ट

घाम उदायो आफ्नै तालमा । हामीलाई किन कुर्थ्यो घामले । हामी घाम भेट्ने अवस्थामा थिएनौं । चिसोमा को उठोस् ! त्यही पुरानो घाम हेर्न अजय सर पहिलो ६:३५ को अलार्म बन्द गर्दै निन्द्रामा बुत्बुताए । सबै उठ्दा र नित्यकर्म सक्दा ९ बज्यो । घाम डाँडा छोडेर टाउकोमाथि आइसकेको थियो । ब्रेकफास्टको टिबेटन ब्रेड, अन्डा, चिया खाएर अब नयाँ गन्तव्य लाग्नु थियो । झुलेसम्मको ३ घण्टा पैदलयात्राका क्रममा बाटोमा केही भेटिन्न । न त गाउँ, त पानी खाने मुहान ।

झुलेजहरसिंह पौवा

हामीले सन् २०१७ लाई चिसापानी डाँडैमा छोडेका थियौं । लाक्पा दोर्जे हिमाललाई दाहिनेतर्फ राख्दै हामी हिँड्यौं झुलेतर्फ । पुग-नपुग ११ किलोमिटर दूरीमा पर्थ्यो झुले गाउँ- त्यसपछि झुले चेकपोस्ट । झुले गाउँ आएपछि पर कतै कंक्रिटको जङ्गल काठमाडौं देखिन थालेको थियो । झुलेबाट लगभग एक घण्टा ओरालो लागेपछि पुगिन्थ्यो जहरसिंह पौवा ।

चिसापानी शिवपुरी राष्ट्रिय निकुञ्जनजिकै पर्ने एउटा डाँडाको सुन्दर गाउँ हो । यो सिन्धुपाल्चोक जिल्लामा पर्छ । काठमाडौंबाट लगभग ५ घण्टा दूरीमा पर्ने एउटा स्वर्गको टुक्रा भनौं न । सुन्दरीजल, मूलखर्क अनि चिसापानी गरेर तीन सैनिक पोस्ट छिचोलेपछि पुगिन्छ चिसापानी अनि फर्किने आफूअनुकूलका बाटाहरु । सैनिक अर्थात् अनुशासन, सफा र सुरक्षा । निकुञ्जमा हिँड्ने हरेक पैदलयात्रुले आफूलाई महसुस गर्ने सुरक्षा र सुन्दर बाटाहरु सबै नेपाली सेनाका देन हुन् ।

जहरसिंह पौवा

चारदेखि साढे चार घण्टा निरन्तर हिँडेपछि जहरसिंह पौवा पुगिएको थियो । त्यहाँ साँखुको गाडी चढ्नु थियो । गाडी चढ्नुअघि खाना खानु थियो । एउटा होटल छिरियो । योपटक थपेरै खाइयो । अज्ञात सरले अर्ती दिँदै थिए, "खाना थप्नु हुन्न, पहिलोपटक जति आउँछ, त्यत्ति नै मात्र खानुपर्छ ।" अज्ञात सरले पूरै भ्रमणभरि यो दिव्यज्ञान दिइरहे । तर, भोका हामीले उनको त्यो अर्ती त्यही दालमा घोलेर खाइदियौं । अज्ञात सर भने आफ्नो कुरामा कटिबद्ध थिए । हु केयर्स ।

चोकमा गाडी पर्खिराथ्यो । हामीलाई नै कुर्दै थियो शायद । गाडीका खाली अन्तिम दुई सिटमा हामी अडियौं । अब दुई घण्टासम्म त्यो हाम्रो सिट थियो । गाडी बिस्तारै साँखुतिर दौडियो ।

12 Khari



Comments

Popular posts from this blog

फोन

  म इन्द्रावती खोलाको झोलुंगे पुलमा छु । मान्छेहरू आवतजावत गर्दैछन् । बालबच्चा, बूढाबूढी, तरुना–तरुनी सबैजना आफ्नै रफ्तारमा खोली तर्दैछन् । नयाँ ठाउँ पुग्नेबित्तिकै मान्छेले अचेल दुई काम गर्छ । या त फेसबुकमा फलानो ठाउँमा छु भनेर ‘चेक–इन’ गर्छ या मोबाइलमा मुख चुच्चो पारेर झिल्मिलाउँदो सेल्फी खिच्छ । कलेजको टुरमा मेलम्ची पुगेको मलाई सम्झनाको खातिर तस्बिर खिच्नु कुनै नौलो कुरो थिएन । एचटीसी–८२० मोडलको मोबाइल झिकें । हामीजस्ता कालो वर्णका पुरुष तथा महिलाका लागि रेट्रिका र स्विट सेल्फी छ, अनुहारमा कृत्रिम चमक थपिदिनका लागि ।  मोबाइलले १–२–३ भन्दै टाइमर दिँदै थियो । अकस्मात् मेरो हातबाट मोबाइल झ्याम्मै भुइँमा खस्यो । झोलुंगे पुलको बीचतिर भएको भए त मोबाइल खोलामा खस्थ्यो । धन्न म पुलको छेउँमा भएकोले मोबाइल बगरमा खस्यो । जेहोस्– मैले आफ्नो फोनलाई श्रद्धाञ्जली दिनु परेन । बडो दुःखले ओरालो झरेर बगरमा सेतो रङको आफ्नो उही चिरपरिचित फोन भेट्दा मन दंग थियो । फोन कस्तो अवस्थामा छ भन्दा पनि फोन भेटियो भन्ने कुरामा अन्तरिम खुसी भइयो । चिसो भइसकेको मन र हराइसकेको धड्कन यसरी बिजुली गतिमा दौडियो कि मानौं उ

कान्छी , होली र बसन्तपुर

  पछिल्लो भेटमा   कान्छी ले मतिर फर्केर भनिन "यो पटकको होली बसन्तपुरमा मनाम न है.." है पछाडी उद्गार चिन्ह छ यो प्रश्न थिएन सुझाब पनि थिएन यो योजनामाथिको लालमोहर थियो म अवाक भए बोल्न सकिन आवाज निस्कदै निस्केन न मौन समर्थन,न चर्को बिरोध अह म बोलिन ।। दिउसो चिया भेटमा साथीले बडो मज्जाले भनेका थिए अङ्ग्रेजी हुन्कारका साथ "Holi is a sexy festival its all about opportunities " बसन्तपुर गैन्छ छोटा भिजेका लुगाहरु कलिला तिघ्राहरु बयस्क गालाहरु छुने मुसार्ने अनि त के के के के म  कान्छी लाइ लिएर बसन्तपुरमा कसरी जाम म आफ्नै साथीसँग आफ्नी  कान्छी लाइ जोगाउन सक्दिन भने होलीका नाममा नशामा मात्तिएका आबेगमा लठ्ठिएका हजारौ पिपासुबाट मेरी  कान्छी लाइ उसकै सर्वप्रिय ठाम बसन्तपुरमा कसरी जोगाउछु म  कान्छी लाइ के भनम कारण के बताम आफ्नो मौनताको म उसलाइ उसले लाउने लुगामा बन्देज लाउन सक्दिन उसको पसन्द ना पसन्दमा पनि बोल्न सक्दिन न त बसन्तपुर नजाम भन्न नै सक्छु ।। कहिले चाडका नाममा कहिले मेलापातका नाममा कहिले झलमल्ल अध्यारोमा कहिले निस्पट उज्यालोमा कहिले बसमा कहिले माइक्रोको अन्तिम सिटमा आजपन

(कथा) अनि बीपी-मदन एकअर्कालाई हेर्दै मुस्कुराए

पुसको     चिसो । तापक्रम दिनानुदिन घट्दै छ । राजनीतिक गर्मी झन्‌झन् बढ्दो छ । रेडियोमा समाचार छिनछिनमा प्रसारित छन्, एक घन्टाअघिको समाचार अहिलेको बुलेटिनमा मिल्दैन । घटनाक्रम बदलिसकेका हुन्छन् । टीभीका प्रस्तोता भने थरीथरीका वक्तालाई स्टुडियोमा बोलाएर झपारिरहेका छन्, के तिनमा प्रश्न सोध्ने शालीनता र उत्तर सुन्ने धैर्य छैन ? कोरोना हराइसक्यो, शहरमा आर्थिक, सामाजिक अनि राजनीतिक चहलपहल बढ्दो छ । हाइवे लोकन्थलीबाट हिँडेर जडीबुटी आउँदै छ । ऊ मनोहरा फाँटको अँध्यारो बाटोमा हिँड्दै छ । आज साँझ काभ्रेली खाजाघरमा उसले तीन पिलेट भुटन, दुई हाफ खुकुरी रम र छवटा खुकुरी चुरोट खाएर आफ्नो डेरा फर्किंदै थियो । हाइवेको बाटो सही थियो, चाल सही थिएन । ऊ रमले मातेकाे थियो । बाटोमा दुई मान्छे टर्च बालेर त्यही बाटो हिँड्दै थिए । तिनीहरूले हाइवेको मुखमा टर्च बाले । 'बटुवातिर टर्च नतेर्स्याउनुस् महोदय, बाटोमा बाल्नुस्, लडिएला', हाइवेले भन्यो । 'हाम्लाई चिनेनाै ?' 'बल्ल चिनेँ', मदन भण्डारी र बीपी कोइराला मध्यरातमा मनोहरा फाँटमा भेटिएका थिए । 'कहिले आउनुभो ? कस्तो छ माथि ?' मलिन स्व